बार्सिलोना- सामसङले ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको छ। आइतबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा सामसङले यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। सामसङले यी दुबै स्मार्टफोन उत्कृष्ट डिजाइन, कारीगरी र उच्च क्षमतायुक्त रहेको दाबी गरेको छ।
ग्यालेक्सी एसको पछिल्लो स्मार्टफोनमा प्लास्टिक कभरका कारण आलोचित सामसङले ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एजमा मेटल कभर हालेको छ। दुवै स्मार्टफोनलाई आइफोन ६ र सिक्स प्लससँग तुलना गरिएको छ। विज्ञहरुका अनुसार सामसङका दुवै मोडल एप्पलको पछिल्लो उत्पादन आइफोन सिक्स र सिक्प्लससँग मिल्दोजुल्दो छन्।
यसअघि दुई रंगमा मात्र आउने ग्यालेक्सी एस सिरिज यसपाला पाँच रंगमा उपलब्ध हुनेछन्। जसमा गाढा हरियो, गोल्ड, निलो, कालो र सेतो रंगको हुनेछ।
एस ६ एज पनि एस ६ कै सफ्टवेयरमा निर्माण गरिएको छ। दुवै स्मार्टफोनको डिस्प्ले ५.१ इन्चको छ। जसमा २५६०x१४४० क्वाड एचडी गुणस्तर छ।
यसमा एउटा नयाँ फिचर पनि समावेश गरिएको छ। जसले स्क्रिन नहेरिकनै कसले फोन गर्योन भनेर थाहा पाउन सकिन्छ। प्रयोगकर्ताले कन्ट्याक्ट्स नमावलीलाई विभिन्न पाँच रंगमा ढाल्न पनि सक्नेछन्। उक्त रंगले क्यन्ट्याक्टलाई पहिचान गर्न सकिने सामसङले उल्लेख गरेको छ।
दुवै स्मार्टफोनमा धेरै फिचर अपग्रेडसमेत गरिएको छ। अगाडिको क्यामेरा पाँच मेगापिक्सल र पछाडिको क्यामेरा १६ मेगापिक्सलको छ। दुवै क्यामेरामा १.९ लेन्स जडान गरिएको छ। यसले कम प्रकाशमा पनि राम्रो भिडियो/तस्बिर खिच्न मद्दत गर्छ। सामसङले नोट ४ मा पनि १६ मेगापिक्सलकै गुणस्तरीय क्यामेरा जडान गरेको थियो।
यी स्मार्टफोनमा आइफोनजस्तै पछाडिको कभर र ब्याट्री निकाल्न पाइने छैन। यसको माइक्रो एसडी कार्ड पनि परवर्तन गर्न मिल्दैन। यी दुवै मोडल ३२, ६४ र १२८ जिबीमा उपलब्ध हुनेछन्। र्या म ३ जिबीको हुनेछ।
यी स्मार्टफोन वाटरप्रुफयुक्त छैनन्। यी दुवै स्मार्टफोनको ब्याट्री पनि मजबुत छ। यसको ब्याट्री १० मिनेट चार्ज गरेर ४ घन्टा चलाउन सकिने कम्पनीको दाबी छ। आधा घन्टामा ५० प्रतिशत चार्ज गर्न मिल्ने यी स्मार्टफोन अघिल्ला फोनभन्दा कम समयमै फुल चार्ज गर्न सकिन्छ।
यी स्मार्टफोन एन्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टममा निर्माण गरिएको छ। एस ६ को तौल १३८ ग्राम छ भने एस ६ एजको तौल १३२ ग्राम छ।
यी दुवै स्मार्टफोनले उपभोक्तालाई खुसी पार्ने सामसङका सिइओ जेके सिनले बताएका छन्। 'हामीले नयाँ नयाँ प्रविधिसँगै सामसङका विभिन्न सेरिजहरु उत्पादन गर्दै आएका छौं,' सिइओ सिनले भने, 'त्यही दौरानमा ग्यालेक्सी सिरिजका यी दुई स्मार्टफोन बजारमा ल्याएका छौं। यसले तपाईँहरुलाई सन्तुष्ट पार्ने आशा छ।'
यी स्मार्टफोनको बिक्री अप्रिल १० देखि हुने सामसङले जनाएको छ।
#Nagarik News